त्रिदेवमा परिचयात्मक र उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड ।

त्रिदेव क्याम्पस चारआलीको आयोजनामा जनप्रतिनिधिसंगको परिचयात्मक कार्यक्रम र विद्यार्थी लक्षित उत्प्रेरण मूलक कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता तथा संविधानसभा सदस्य प्रेम गिरीको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा क्याम्पस प्रमुख माधव प्याकुरेलले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, वडा नम्बर–११ का वडाध्यक्ष रुद्र डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, १३ का वडाध्यक्ष कृष्ण सिग्देल, १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, यस क्षेत्रका कार्यपालिका सदस्य, वडासदस्यहरुसंगको परिचयात्मक उक्त कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले आफ्ना वडा र आसपासका विद्यार्थीहरुलाई आवत–जावतमा सहजता प्रदान गर्न एउटा बस क्याम्पसलाई उपलब्ध गराउने, खेलकुद, अतिरिक्त क्रियाकलाप र भौतिक विकास लगायतका क्षेत्रमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नगर उपप्रमुख मिना उप्रेतीले त्रिदेव क्याम्पस यस नगरको सम्पत्ति रहेकाले यसको सुरक्षा, विकास र संरक्षणमा नगरको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफू प्रदेश संसद भइ रहदाँ त्रिदेव क्याम्पको विकासका लागि प्रदेश सरकार र संघिय सरकारसंग समन्वय र पहल गर्दा आवश्यक सहयोग प्राप्त गर्न नसकेको र यस क्याम्पसको गरिमा र अवस्थालाई मध्यनजर गर्दै योजनाबद्ध ढङ्गले नीतिगत रुपमा निर्णय गरेर शिक्षा क्षेत्रको विकास संगसंगै सामूदायिक क्याम्पसहरुको विकासका लागि विषय विज्ञहरुसंगको सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका संविधानसभा सदस्य प्रेम गिरीले क्याम्पसले प्राप्त गरेको उचाईलाई कायम गराउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने बताउँदै छोटो समयमा क्याम्पसले गरेको प्रगतिको प्रशंसा गरे । उनले उपस्थित जनप्रतिनिधि, क्याम्पस सञ्चालक समिति लगायत विद्यार्थीहरुलाई उप्रेरणाको विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका नेताहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सावित्रा दाहालले गरेकी थिइन् ।
