एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा प्रमुख पदमा राप्रपाका राम थापा विजयी, उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित
झापा,

सुरेन्द्र भण्डारी
सुरुङ्गा, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी बिजयी भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बन्नु भएका रामकुमार थापा नगरप्रमुखमा निर्बाचित हुनु भएको हो भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित हुनु भएको हो ।
नगर प्रमुखमा निर्वाचित थापाले १७५२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेद्वार रहनु भएकी गीता कुमारी पाौडेल अधिकारीले १७०७२ मत प्राप्त गर्नुभयो । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ ।
अधिकारी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो ।
यता उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६९६६ मतन प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेद्वार अम्विका प्रसाद खनालले १६५७४ मत प्राप्त गर्नुभयो । उपप्रमुख पदमा भट्टराई र खनालको मतान्तर भने ३९२ रहेको छ ।
५८ हजार १ सय ७६ मतदाता रहेको यो नगरमा १८ हजार ७ सय १६ पुरुष र २१ हजार १ सय ७९ जना महिला गरी ३९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।
दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन भएको थियो । जसमा नेपाली कांग्रेसले प्रमुख पद राप्रपालाई दिएको थियो भने उपप्रमुख पद नेपाली कांग्रेसले लिएको थियो । जसका कारण दुवै पद गठबन्धनले हात पारेको हो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।
वडा तर्फभने दमक १ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट हरि प्रसाद न्यौपाने, २ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट प्रजापति सापकोटा, ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का तर्फबाट नवीन वरााल, ४ मा नेपाली कांग्रेसका पुण्य प्रसाद दाहाल निर्वाचित हुनभयो ।
त्यस्तै दमक नगरपालिका वडा नम्वर ५ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का इन्द्र वहादुर गुरुङ, ६ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का टेकवहादुर थापा , ७ मा राष्ट्रिय प्रजाातन्त्र पार्टीका भीम प्रसाद पौडेल, ८ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का धर्म प्रसाद दाहाल, ९ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का कुवेर प्रसाद भट्टराई र वडा नम्वर १० मा नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद भण्डारी निर्वाचित हुनुभयो ।
दमकमा ६ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेद्वार बनाइएको थियो । मतगणनाको शुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा कडा प्रतिष्पर्धा रहेको थियो ।
