September 20, 2026

रहेनन् काँशीलाल चौधरी

0

बिर्तामाड, असोज २३ । नेपाली काँग्रेसका पुराना तथा त्यागी नेता काशीलाल चौधरीको निधन भएको छ ।
झापाको राजनीतिमा सादा, व्यावहारिक तथा स्वच्छ छवि भएका नेताका रुपमा परिचित चौधरीको आज बिहीबार उपचारको क्रममा निधन भएको हो ।
७२ वर्षीय नेता चौधरी कर्मनिष्ठ  कृषकका रुपमासमेत परिचित थिए भने नेपाली काँग्रेसका पुराना र लोकप्रिय नेता थिए । नेपाली काँग्रेसको जिल्ला संगठनमा अनारमनी गाविसको उपाध्यक्ष, पार्टीको क्षेत्रीय समिति एवम् विभाजनका समयमा देउवा पक्षको जिल्ला समितिको अध्यक्ष समेत रहिसकेका चौधरी आज बिहीबार अपरान्ह पेट दुखेर बिर्ता सिटी हस्पिटलमा उपचारार्थ भर्ना भएका थिए ।
डा. अनिल बस्नेतले स्वास्थ्य जाँच गरी उनको पेटको भागको नशा सुन्निएको भन्ने गंगालाल अस्पतालको पुरानो रिपोर्ट अनुसार सो नशा फुटेको परीक्षणमा देखिएको बताए । त्यस्तो अवस्थामा काठमाडौं र शिलगढीको एउटा अस्पतालमा मात्र शल्यक्रिया हुनसक्ने भएकाले शिलगढी रेफर गरिएको डा. बस्नेतले बताए ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष, बिर्तामोडस्थित गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चौधरी महेन्द्ररत्न उच्च मावि अनारमनी व्यवस्थापन समितिका पूर्व सदस्यलगायत दर्जनौं संघसंस्थामा आवद्ध थिए ।
यही असोज २९ गतेदेखि शुरु हुने थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनको तयारी सन्दर्भमा बिर्तामोडस्थित बेबील्याण्ड मन्टेश्वरी स्कुलमा बैठक भइरहेको बेला अचानक बेहोश भएका थिए । उनलाई तत्काल अस्पताल पुर्याइएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक इन्द्र चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *