September 16, 2026

चीनले नेपाली भूमी मिचेको सरकारी प्रमाण

0

काठमाडौं । छिमेकी देश चीनले नेपालको उत्तरी सीमानामा नेपाली भूमि मिचेको विषय थप पेचिलो बन्दै गएको छ ।

नेपाल-चीनबीचको सीमा विवादबारे छानबिन गर्न बनेको सरकारी कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चीनले नेपाली भूभागमाथि नहर बनाउने प्रयास गरेको दाबी रहेको छ

नेपाल-चीनको सीमानामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा चीनले पानीको मुहान नियन्त्रण गर्ने प्रयास गरेकाले त्यसको संरक्षणमा नेपालले ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसो त चीनले किट खोलाबाट कर्णाली नदीसम्म नेपाली भूभागमा तारबार समेत लगाएको भन्दै त्यसलाई समेत हटाउन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ राजदूतावासले त्यसबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ । तर यता चीनले नेपालसँग कुनै पनि किसिमको सीमा विवाद नरहेको बताउदै आएको छ ।

प्रतिवेदनमा के छ ?

गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोलीलाई हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौमा दिएको थियो।

तीन हप्ताभन्दा बढी समय लगाएर समितिले तयार पारेको प्रतिवेदनलाई अझै गोप्य राखिएको छ।

चीनले लिमी लाप्चा क्षेत्र नजिकै निर्माण गरेका भवनका कारण उब्जिएको विवादका माझ उक्त अध्ययन टोली गठन गरिएको थियो।

अध्ययन टोलीले नेपाल र चीन दुवै सरकारले बताए जस्तै चिनियाँ पक्षले बनाएका भवन सीमा रेखाबाट एक किलोमिटर पर चिनियाँ भूमिमा रहेको देखाएको छ। तर अध्ययन टोलीले चिनियाँ पक्षका कारण सीमामा कैयौँ समस्या रहेको पनि औँल्याएको छ।

प्रतिवेदनमा भनिएको छ, “स्तम्भ नम्बर ५ (२) माथिको किट डाँडाको बहुधार र किट खोलासम्म चिनियाँ पक्षले तारबार लगाई नेपाल-चीन साझा सीमा स्तम्भ नम्बर ५(२)को दक्षिण र किट खोलाको पूर्व हुँदै उत्तरतर्फ रहेको सीमा स्तम्भ नम्बर ६ (१) बाट तारबार कर्णाली नदीसम्म पुर्‍याएको छ। सीमा स्तम्भ नम्बर ५ (२) बाट किट खोलाको मध्यभाग नै दुई देशको सीमा हुने प्रोटोकलमा उल्लेख भएकाले उक्त भूभाग नेपालको हुन्छ। तर चिनियाँ पक्षले नेपाली भूभागमा तारबार लगाएको देखिन्छ। साथै चीनले किट डाँडाको पानी आफ्नो सीमाभन्दा करिब १४५ मिटर वर नेपालको भूभागमा पर्ने किट खोलाबाट स्थायी नगर बनाएर लिने प्रयास गरेको र सोही बमोजिम सडक र टङ्की निर्माण गरेकोमा सशस्त्र प्रहरीको तदारुकताका कारण निर्मित संरचना भत्काएर पुरेको देखिन्छ। यसबाट दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने भएकाले यसको संरक्षण र कूटनीतिक सम्बोधन हुन आवश्यक रहेको देखिन्छ।”

सो प्रतिवेदनमा चिनियाँ पक्षले नहर तयार गरिरहेको र निर्माण गरिएको ढल पुरिएको अवस्थाको तस्बिर पनि राखिएको छ।

नेपाली अध्ययन टोली पुग्नु दुई दिनअघि खनिएको सम्पूर्ण भूभाग पुनः छोपी यथास्थितिमा लगिएको आफूहरूले बुझेको प्रतिवेदनमा जनाइएको छ।

पानीढलोलाई सिमाना मानिएको भए पनि उक्त क्षेत्रमा चीनका तर्फबाट स्थापना गरिएका दुई वटा सिसिटिभी क्यामेरामध्ये एउटा नेपाली भूभागमा स्थापना गरेको देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिवेदनले के के समस्या देखाएको छ ?

उक्त अध्ययनले आठ बुँदामा सीमामा देखिएका समस्या र १२ वटा बुँदामा समस्या समाधानका उपाय समेटिएको छ।

सीमा
प्रतिवेदनका अनुसार हुम्ला क्षेत्रमा देखिएका समस्या यस्ता छन्:
  • नेपालको सीमामा पर्ने लोलुङ क्षेत्रको साबिक मानसरोवर दर्शन गर्ने स्थानसम्म चिनियाँ सुरक्षा फौजको निगरानीले नेपालीलाई धार्मिक गतिविधिमा निषेध भए गरेको पाइएको, आफ्नै सीमासम्म समेत पनि बेलाबेलामा जान नसकिएको,
  • नेपाली पूर्वाधार र विकास निर्माणको अभावका कारण लिमि लाप्चा र हिल्सा क्षेत्रका नागरिक चिनियाँ बजारमा निर्भर रहेका जसका कारण नेपाली नेपाली नागरिक सीमाको विषयमा बोल्न अनिच्छुक, यस्ता अध्ययनले सम्बन्ध बिग्रिन्छ भन्ने चिन्ता,
  • सीमा स्तम्भ नम्बर ५ (२) बाट पश्चिम किट डाँडाको बहुधार हुँदै गएको सीमा स्तम्भ नम्बर ४ क्षेत्र आसपासमा चिनियाँ पक्षले नेपालको चरिचरनमा अवरोध गर्ने गरेका भनाइ,
  • नेपाली भूभागमा रहेको सीमा स्तम्भ नम्बर ६ (१) देखि ५ (२) भित्र किट खोलाको पूर्व नेपाली भूभागमा उपस्थिति देखाउने प्रयास गरेको,
  • चिनियाँ क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर ७ (२) स्थलगत रूपमा नदेखिएको र नेपाली सुरक्षा फौजले समेत खोजी गर्दा नभेटिएको,
  • नेपाल चीन साझा सीमा स्तम्भ नम्बर ९ (२) बाट करिब ३२ मिटर सीमा स्तम्भ नम्बर १० मा चिनियाँ पक्षले तारबार लगाएको, त्यसबाट सीमा स्तम्भबाट १० मिटर भित्र कुनै स्थायी संरचना बनाउन नपाउने सीमा प्रोटोकलको व्यवस्था उल्लङ्घन भएको, र
  • नेपालमा सीमा जस्तो संवेदनशील विषयमा राजनीतिक धारणा बनाउने र पक्ष विपक्षमा मत जाहेर गर्नाले कूटनीतिक अभ्यास र छिमेकीबीचको सम्बन्धलाई अनावश्यक उछाल्ने प्रयास हुने भएकाले सीमाको विषयलाई राज्यको नीतिमा स्थापित गर्नुपर्ने र दुई पक्षीय स्थायी संरचनाबाट सम्बोधन गर्नुपर्न

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला सत्तामा रहँदा नेपाल र चीनले सन् १९६० मा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए।

तत्कालीन राजा महेन्द्र र चिनियाँ राष्ट्रप्रमुख च्याउ याङले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेका थिए।

सन् १९६३ मा नेपाल र चीनले सीमा स्तम्भ र नक्साङ्कनलाई अन्तिम रूप दिँदै सीमा प्रोटोकलमा हस्ताक्षर गरेका थिए।

त्यसयता नेपाल र चीनले तीन पटक सीमाको संयुक्त निरीक्षण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *