September 25, 2026

एमाले कनकाईले संविधान दिवस मनायो

0

सुरुङ्गा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कनकाई नगर कमिटीको आयोजनामा सातौं संविधान दिवस मनाइएको छ ।
कनकाई–२ स्थित धनुषकोटी वनभोज स्थलमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा वक्ताहरुले नेकपा एमाले अभिभावक पार्टी रहेको बताए । कम्युनिष्ट पार्टीहरु वीच एकीकरण गरी जनभावना अनुरूप पार्टी र सरकार सञ्चालन भइरहेकोमा प्रचण्ड र माधव नेपालको गुट अलग भएको तर एकीकृत कम्युनिष्ट पार्टी एकताबद्ध रूपमा निरन्तर अघि बढिरहेको उनीहरुको भनाइ थियो ।

जनता र कम्युनिष्ट आन्दोलनलाई धोखा दिनेहरुको पतन अनिवार्य रहेकोमा सबैको जोड थियो । नेकपा एमाले देश र जनताप्रति समर्पित, सुखी नेपाली समृद्ध नेपाल अभियानको नायकत्व लिने पार्टी भएकाले सामान्य टुटफुटले पार्टीलाई कुनै असर नगर्नेमा वक्ताहरुको जोड रहेको कनकाई नगर कमिटी प्रचार विभाग प्रमुख कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

कनकाई नगर कमिटी अध्यक्ष रवीन्द्र लम्सालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय हीराकुमार थापा, विशिष्ट अतिथि झापा क्षेत्र नं. ४ का संघीय सांसद माननीय एल.पी. साँवा, कार्यक्रम संयोजक राजेन्द्र उप्रेती (राजेश), कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, संविधानसभा सदस्य अम्बिका राजवंशी लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा नवनियुक्त प्रदेश नं. १ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापालाई बधाइ ज्ञापनसहित फूलमाला र अबिरले सम्मान गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरी, काठमाण्डौ–झापा सम्पर्क मञ्च अध्यक्ष सुनिल भेटवाल, अखिल नेपाल महिला संघ झापा जिल्ला सदस्यद्वय नर्वदा संग्रौला र गौरा उप्रेती, कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईं, एमाले क्षेत्रीय कमिटी सदस्यहरु तुलाराम बस्नेत, ओम पाठक, छबि थपलिया, कनकाई नगर कार्यपालिका सदस्यहरु नबलकिशोर दत्त, चुवालाल राजवंशी, कृष्णमाया भुजेल, सुनिता खरेल, वार्ड अध्यक्षहरु प्रेम कटुवाल, कृष्ण राई, परशुराम गिरी, लीलाबहादुर कन्दङवा, रोशनराज पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा गीतसंगीत तथा वनभोज कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा संयोजन समिति सदस्य सीता बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन युवा नेता बिनोद राना मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *