September 24, 2026

गण्डकी प्रवेश नाकामा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र

0

दमौली,

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो ।

निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उहाँले भन्नुभयो, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।”

निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ । “निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिन्छौँ”, उपाध्यायले भन्नुभयो । गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीररुपमा लागिरहेको बताउनुभयो ।

गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । “निगरानी केन्द्र हेर्दाखेरी सानो लाग्छ, तर सारमा यसले महत्वपूर्ण काम गर्नेछ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस नियन्त्रण गर्दै यसबाट सुरक्षित रहनका निमित्त मुख्यतः छिमेकी देशबाट प्रवेश गर्दै गर्दा समुदायमा नफैलियोस् भन्नका लागि प्रवेश नाकामा निगरानी केन्द्र स्थापनाको निर्णय गरेका थियाँै ।”

मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले हरेक व्यक्तिको स्वास्थ्यको निगरानी गर्न र सूचना प्रवाह गर्ने उद्देश्यले निगरानी केन्द्र स्थापना गरिएको बताउनुभयो । सरकारले नवलपुरको दाउन्ने र स्याङ्जाकोा राम्दीमा पनि निगरानी केन्द्र स्थापना गर्ने उहाँले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, गोरखाका पालुङटार नगरपालिका प्रमुख दीपक कँडेललगायतले स्वास्थ्य मापदण्ड पालना नै कोरोनाबाट बच्ने प्रमुख उपाय रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *