September 23, 2026

भद्रपुर नाकामा राष्ट्रिय झण्डा फहराइयो

0

झापा ।

नेपाल भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झन्डा फहराइएको छ । भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले राष्ट्रिय झन्डा उपलब्ध गराएपछि मेची पुल पारी सो झन्डा फहराइएको हो ।

५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी विटमाथि तीन मिटर लामो झन्डा लगाइएको छ । झन्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो ।

यसअघि भद्रपुर नाकामा लगाइएको राष्ट्रिय झन्डा च्यातिएपछि त्यसलाई हटाइएको थियो । लामो समयदेखि सीमा नाकामा राष्ट्रिय झन्डा नहुँदा देशको भूभाग छुट्टाउने पहिचान नै मेटिएको थियो । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग मेची पुल पारी प्रहरी विटको निर्माण गरिएको छ ।

प्रहरी बिटको उद्घाटन गरिए पनि विटमाथि राष्ट्रिय झन्डा लगाएको थिएन । आफ्नै वडामा पर्ने जिल्लाकै दोस्रो ठुलो सीमा नाकामा राष्ट्रिय झन्डा नभएकोले वडा कार्यालयले सो झन्डा खरिद गरेर दिएको वडा अध्यक्ष कार्कीले बताए । यसले राष्ट्रको गौरवसँगै सीमा पहिचानको झल्को दिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *