गृह मन्त्रालयको वक्तव्य प्रति विप्लवको चेतावनी
बिर्तामोड ।

गृह मन्त्रालयले एमसीसीलाई लक्षित गर्दै शुक्रबार निकालेको प्रेस विज्ञप्ति प्रति नेपाल कम्युुनिस्ट पार्टी (विप्लव माओवादी)को जनसत्ताले सरकारको उक्त कदमको विरोध गरेको छ ।
केन्द्रीय जन परिषद नेपालका प्रमुख सन्तोष बुढामगरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको विरोध गर्नेलाई सूक्ष्म निगरानी गर्ने तथा नकारात्मक टिप्पणी नगर्न निर्देशन दिनु गृहमन्त्रालयको हेपाहा प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।
अमूर्त भाषामा गृहमन्त्रालयले एमसीसीतिर लक्षित गर्दै यसको विरोध गर्नेलाई सूक्ष्म निगरानी र कानूनी कारवाही गर्ने भन्नुको अर्थ जनतालाई सूचनाको हकबाट कटाउने, विदेशी मित्रराष्ट्रहरुको सहयोगका नाममा जस्तोसुकै राष्ट्रघाती सम्झौता गरे पनि यसलाई चुपचाप सहने र नेपाल र नेपाली जनताको अस्मिता निर्वाध लुट्न दिनेभन्दा अर्को अर्थ नलाग्ने विज्ञप्तिमा भनिएको छ ।
बुढामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘यो सम्झौताले असल नियतका साथ आएको छैन, यसको पछाडि गहिरो षडयन्त्र छ । हामी दुूरनियतको घोर विरोध गर्दछौं र गृहमन्त्रालयको यो वक्तव्य फिर्ता लिन आग्रह गर्दछौं ।’
