June 18, 2026

५० लाखको गोबर ग्यास प्लान्ट वर्षौंदेखि प्रयोगविहीन

0

झापा,

मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ। पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिणमा निर्माण गरिएको प्लान्ट अहिले जीर्ण अवस्थामा छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१/७२ मा ५० लाख रुपैयाँ खर्चिएर गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो। मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा लाखौं लगानी खेर गएको स्थानीयवासीले बताएका छन्। गोबर ग्यास प्यान्ट क्षेत्र अहिले फोहोर फाल्ने क्षेत्रमा परिणत भएको छ।

लामो समय जनप्रतिनिधिविहीन भएको बेला नगरपालिका कर्मचारी संयन्त्रको पालामा प्लान्ट निर्माण गरिएको थियो। निर्माण सम्पन्न भएपछि प्रयोगमा नल्याउँदा जीर्ण भएको स्थानीय राजकुमार दनुवारले बताए। ‘नगरपालिकाले स्थानीयलाई प्रयोग गर्न दिएन,’ उनले भने‚ ‘प्रयोगविहीन हुँदा अहिले प्लान्ट जीर्ण अवस्थामा छ, जहिले पनि भत्किन सक्छ।’ गाउँघरका केटाकेटी खेल्ने क्रममा प्लान्टभित्र लडे ज्यान गुमाउनु पर्ने अवस्था रहेको दनुवारको भनाइ छ।

लामो समयसम्म प्लान्ट प्रयोगमा नल्याउनुको पछाडि नगरपालिकाका कर्मचारीहरूको मिलेमतो र कमिसनको खेल हुन सक्ने स्थानीयको आरोप छ। लामो समय प्रयोगविहीन हुँदा अब त्यसलाई भत्काउनुको विकल्प नरहेको मेचीनगर नगरपालिका १० नम्बर वडा अध्यक्ष सुदय पनेरुले बताउँछन्।

‘दीर्घकालीन योजनाबिना नगरपालिकाले लाखौँ बजेट खर्चिएर प्लान्ट बनाउनु गलत भयो,’ वडा अध्यक्ष पनेरुले भने, ‘प्लान्ट त बनाइयो, तर यसलाई एक चोटि पनि सञ्चालन गरेको जानकारी छैन। कसले, कसरी र कसको योजनामा प्लान्ट बनाएको यस विषयमा खोज्नुपर्ने अवस्था आएको छ।’ सरकारको लाखौँ रकम डुबाउने योजना सरसर गलत भएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *