June 18, 2026

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा काँकरभिट्टामा प्रदर्शन

0

मेचीनगर ।

दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय अनुसार काँकरभिट्टामा प्रदर्शन गरिएको हो ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले देशभर विरोध गर्ने जनाएको छ ।

जयसिहं धामीलाई न्याय दे, दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरलगायतका नारा लेखिएका प्ले कार्डसहित निस्केको र्यालीले काँकरभिट्टा बसपार्क, बाहुनडाँगी रोड, गुरास पथलगायतका मुख्यः भागको परिक्रमा गरेको थियो ।

राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटी सदस्य अनिता कन्दङ्वाको उपस्थितीमा भएको कार्यक्रमा संघका जिल्ला कमिटी सदस्य एवम् क्षेत्रीय इञ्चार्ज नारायण खनाल, संघका जिल्ला कमिटी सदस्य एवम् नगर इञ्चार्ज सञ्जय मेचे, मेचीनगर अध्यक्ष मानबहादुर तामाङ तथा संघको वडातहका अध्यक्ष र पार्टीका जिल्ला नेताहरुको सभागिता रहेको थियो ।

सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नयाँ पार्टी दर्ता गराएका छन् ।

बुधबार दलविभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *