ढुवानी व्यवसायी र मजदुरलाई तत्काल खोप उपलब्ध गराउन मेची ट्रान्सपोर्ट एसोसिएसनको आग्रह
बिर्तामोड ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले खोप कार्यक्रम शुरु गरे पनि ढुवानी व्यवसायीलाई प्राथमिकताको रुपमा नराखेको भन्दै मेची ट्रान्सपोर्ट एसोसिएसन बिर्तामोडले प्राथमिकता दिन आग्रह गरेको छ ।
कोरोनाको संक्रमणको समयमा अति आवश्यकीय सामग्री, खाद्यान्न, औषधि लगायतका वस्तु आयात–निर्यातमा खट्ने ढुवानी व्यवसायी र मजदुरलाई उपेक्षा गर्दै प्राथमिकता नदिएको भन्दै एसोसिएसनले अग्रभागमा खटिने व्यवसायी र मजदुरलाई खोप लगाउन माग गरेको छ ।
एसोसिएसनका अध्यक्ष मोहन ढकालले झापाका सबै स्थानीय तहलाई ढुवानी व्यवसायी र मजदुरहरुलाई अविलम्ब खोप उपलब्ध गराउन माग गरेका छन् । उनले ढुवानी व्यवसायी र मजदुर सुरक्षित भएमात्र खाद्यान्न, औषधि जस्ता अतिआवश्यकीय सामग्री आयात निर्यात गर्न सहज हुने भएकाले उनीहरुलाई खोपको प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
सरकारले ५५ वर्ष उमेर समूहमाथिका नागरिक र फ्रन्टलाइनमा खटिनेहरुलाई खोप लगाउने बताए पनि ढुवानी व्यवसायी र मजदुरलाई भने प्राथमिकतामा नराखेको अध्यक्ष ढकालको भनाइ छ । उनले स्थानीय तहले यस विषयलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेका छन् ।
