जोखिममा प्रहरी : प्रदेश १मा १३०२ प्रहरी संक्रमित, १२४५ ले जिते
झापा । 
हरेक आपतविपतमा सबैभन्दा पहिला पुग्ने नेपाल प्रहरी । भीड नियन्त्रणमा खटिने, विपद्का वेला उद्धारमा जुट्ने, साथै अपराध अनुसन्धान र नियन्त्रणमा खटिने पनि प्रहरी नै हुन् । चीनमा सन् २०१९को अन्त्य तिरबाट देखा परेको कोरोना भाइरस नेपालमा देखापरे लगत्तै अग्रभाग अर्थात फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा समेत कोरोनाको संक्रमण देखा प¥यो ।
शान्ति–सुरक्षा कायम गराउने र नागरिकको जीउज्यान जोगाउने नै प्रहरीको पहिलो दायित्व हुने भएकाले सुरक्षाका उपाय अपनाउने, सजग भएर काम गर्दा–गर्दै पनि धेरै प्रहरीमा कोरोनाको संक्रमण देखा प¥यो ।
सुरक्षित भएर ड्युटीमा खट्न प्रहरीसँग पर्याप्त सुरक्षा सामग्री नहुनु, बन्दाबन्दीका वेला समेत कैयौं प्रहरी कपडाको सामान्य मास्कका भरमा सडकमा खटिनुले पनि प्रहरीमा संक्रमण धेरै देखियो । सरकारले महामारीसँग जुध्न फ्रन्टलाइनमा खटिने प्रहरी लगायत सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने भने पनि त्यसतर्फ चासो दिएको पाइएन ।
प्रहरीभित्र संक्रमण बढ्दै गए आन्तरिक सुरक्षादेखि अपराध नियन्त्रणसम्मै असर पर्ने बताउँदै पछिल्लो समय संक्रमितको संख्या सार्वजनिक गरेको छैन् । प्रदेश–१ का १४ जिल्लामा समेत कोरोनाको संक्रमण बढ्दै गएसँगै धेरै प्रहरी कोरोनाबाट संक्रमित हुन पुगे । कोरोनाको संक्रमण शुरु भए यता हालसम्म प्रदेश–१ का झापासहित १४ जिल्लाका एक हजार तीन सय दुई जना प्रहरी संक्रमित भइसकेका छन् ।
प्रदेश–१मा एक जना प्रहरी हवल्दारको कोरोना संक्रमणकै कारण निधन भइसकेको छ । संक्रमित मध्ये एक हजार दुई सय ४५ जनाले कोरोनालाई परास्त गरिसकेका छन् । कोरोनामुक्त भएका प्रहरीहरु आफ्नो कार्य क्षेत्रमा फर्किसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हाल ५६ जना प्रहरी उपचाररत् रहेका छन् । अधिकांश प्रहरीहरु होमआइसोलेसनमा रहेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुमा कोरोनाको गम्भीर खालको संक्रमण देखापरेको छैन् । तथ्यांक अनुसार तीन वटा प्रमुख सुरक्षा निकायमा प्रहरीमै सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
निषेधाज्ञा कार्यान्वयन गराउनका लागि सवारी चेकजाँचमा खटिएका र अपराध न्यूनीकरणको सिलसिलामा पक्राउ गर्न जाने र म्याद थप्न जाने प्रहरी बढी जोखिममा छन् । निषेधाज्ञा उल्लङ्घन गर्नेहरूलाई होल्ड गरेर कक्षा लिने तथा सडकमा निस्कनेहरूलाई घरभित्र पठाउन खटिएका प्रहरी पनि जोखिममा छन् ।
नेपाल–भारत सीमानामा खटिएका प्रहरी सबैभन्दा धेरै जोखिममा छन् । भारतमा संक्रमणको दर उच्च भएको हुनाले त्यहाँबाट आउनेहरू सक्रमित भएर आउने सम्भावना उच्च हुन्छ । स्वास्थ्य सामग्रीको अभावका बीच सडकमा खटिएका प्रहरीलाई जोखिमबाट जोगाउने दायित्व प्रहरीको नेतृत्वको काँधमा छ ।
तेस्रो लहरको जोखिम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो असोज–कातिक महिनाभित्रमा कोरोनाको तेस्रो लहर भित्रिन सक्ने भन्दै सतर्क गराएको छ । मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ ।
मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
मन्त्रालयले उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन अस्पतालहरुलाई निर्देशन दिइसकेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनजीवन चलायमान भएसँगै संक्रमितको संख्या उल्लेख रुपमा बढ्न थालेका हो । साउन १ देखि १० गतेसम्म २१ हजार व्यक्ति संक्रमित भइसकेका छन् । १० दिनको अवधिमा एक लाख १५ हजार बढी व्यक्तिको परीक्षण गरिएको थियो ।
यो संख्या परीक्षणको तुलनामा करिव १९ प्रतिशत हो । संक्रमणकै बीचमा सबै क्रियाकलाप खुकुलो भएकाले संक्रमितको संख्या बढ्न थालेको भन्दै सरुवारोग विशेषज्ञ डाक्टर शेरवहादुर पुनः यही अवस्था रहे तेस्रो लहर आउने संम्भावना उच्च रहेको बताए । नेपालमा अहिले अल्फा, डेल्टा र कप्पा भेरियन्ट देखिरहेको छ ।
